स्वयम्बरमा लगाइदिएको औँठीमा लागेको रङ अझै मेटिएको छैन, हातमा कोरिएको मेहन्दी अझै सुक्न पनि पाएको छैन, सिउँदोमा भरिएको सिन्दुर अझै ताजा छ तर ...
स्वयम्बरमा लगाइदिएको औँठीमा
लागेको रङ अझै मेटिएको छैन,
हातमा कोरिएको मेहन्दी
अझै सुक्न पनि पाएको छैन,
सिउँदोमा भरिएको सिन्दुर
अझै ताजा छ
तर
मुग्लान पसिसके मेरा स्वामी।
बिहेको रात
सपना बुनिँदै थियो,
तर बिहान नहुँदै
ती सपना टुक्रिए
मात्र सम्झनाको कुहिरो बाँकी रह्यो।
भासिएको तिम्रो अनुहार
के त्यो हाँसोले भरिएको थियो ?
कि आँखाभित्र
अपरिचित दूरी लुकेको थियो ?
म बुझ्नै सकिनँ‘
किनकि समयले
हामीलाई चिनिन पनि दिएन।
संगै हिँड्ने बाटो,
मेलापातका दिन,
मन्दिरको घण्टीसँग
हाम्रो मन पनि बज्नेछ
यी सबै सपना थिए,
सायद मेरो मात्र।
खै कहाँ हरायो
मेरो त्यो संसार ?
जुन मैले
तिमीलाई अर्पण गरेकी थिएँ।
म मात्र एउटा शरीर होइन
मेरो भित्र पनि
मन छ,
धड्कन छ,
अधुरा स्पर्शका कथा छन्।
मेरा पनि चाहना छन्,
मेरा पनि तिर्सना छन्
कि म
काम गर्न ल्याइएको
निर्जीव मेसिन हुँ र ?
बर्षौँदेखि साँचिएको सपना
यति सजिलै जिस्काएर
हराइदिने तिमीलाई
म कुन नाम दिऊँ ?
प्रेमी
परदेशी
कि एउटा अधुरो कथा ।
सायद दोष तिमीमा मात्र छैन,
समय पनि निर्दयी थियो,
तर मेरो मन
त्यो त अझै पनि
त्यहीँ अडिएको छ,
जहाँबाट तिमी गयौ।
र जब रात गहिरिन्छ,
म आँखा चिम्लिन्छु
त्यो एउटै प्रश्न बोकेर ।
यदि तिमी
मेरो सपनाबाट हरायौ भने,
म
अर्को सपनामा
तिमीलाई फेरि देख्न पाउने कि नपाउने ?
वा
मेरा सबै सपना
यस्तै अधुरा रहिरहने हुन् ।
-Swami Dhyan Raj
COMMENTS