-स्वामी ध्यानराज
तिमी प्रेमलाई संकुचन गर्दैछौ
कसैलाई पाउने चाहनामा,
कसैलाई समाउने प्रयासमा।
तर, प्रेम
कहिल्यै कसैको हुँदैन
प्रेम त आफैँमा सम्पूर्ण हुन्छ।
जब तिमी साँच्चै प्रेममा हुन्छौ
तिमी हराउँछौ
र यही हराउनु नै प्रेमको पहिलो ढोका हो।
किनकि
जबसम्म तिमी छौ,
त्यहाँ प्रेम आउन सक्दैन।
प्रेम त त्यहीँ जन्मिन्छ
जहाँ ‘म’ मर्छ।
एक दिन
तिमीले देख्नेछौ
तिमी प्रेम गरिरहेका छैनौ,
प्रेम तिमी भएर बगिरहेको छ।
त्यो क्षणमा
न तिमी प्रेमी हुन्छौ,
न कोही प्रिय।
त्यहाँ केवल
एक मौन धारा बगिरहेको हुन्छ।
त्यो धारामा
न तृष्णा छ,
न अपेक्षा,
न कुनै डर
त्यो केवल अस्तित्वको
शुद्ध स्पन्दन हुनेछ ।
तिमी त्यसमा डुब्दा,
तिमीलाई लाग्छ
म हराएँ ।
तर सत्य के हो भने,
त्यसै क्षणमा
तिमी पहिलो पटक भेटिएका हुन्छौ।
प्रेम नै ब्रह्म हो
किनकि त्यहाँ द्वैत छैन।
न दुई,
न दूरी,
न खोज।
केवल एक
असीम,
अनन्त,
शान्त उपस्थिती।
त्यसैले प्रेम गर
तर अरुलाई होइन
प्रेममै हराऊ।
किनकि
जो प्रेममा पूर्ण रूपमा डुब्छ,
उही ब्रह्ममा विलिन हुन्छ।
COMMENTS