साक्षी खोज्दैछु गुरु को होला एक ‘म’लाई चिनेको, पाउँछु होला कि मैले कोही ‘अहम्’लाई जितेको। कसरी खोजूँ, कहाँ पो खोजूँ? मनमा पीर छ। हे प्...
साक्षी
खोज्दैछु गुरु को होला एक ‘म’लाई चिनेको,
पाउँछु होला कि मैले कोही ‘अहम्’लाई जितेको।
कसरी खोजूँ, कहाँ पो खोजूँ? मनमा पीर छ।
हे प्रभु! कोही भेटाऊ आज, पाउमै शिर छ।
धेरै नै वर्ष बिति पो सके अन्तर-यात्रामा,
खोज्दैछु उत्तर, मनका प्रश्न, संसारी जात्रामा।
समाज, देश, भूगोल, भेष, भाषा—यी कति हुन्?
मनका दुःख, अपूरा कुरा, बाचा—यी कति हुन्?
सुन है, एक कहन्छु भेट, चिन्दिनँ को हो त्यो।
भेटेर लाग्यो, यात्राको खोजी अब लौ सकियो।
न थियो अघि, न थियो पछि, न तल, न माथि।
न हाँस्छ, रुन्छ, न सुखी–दुःखी, केवल एक साक्षी।
आवाज सुन्छु, त्यो ध्वनि मैँ हुँ, बहेको हावा मैँ।
आकाश मैँ हुँ, धरती मैँ हुँ, त्यो तातो लाभा मैँ।
करायो चरा, हाँगामा बसि—मैँ हुँ कि बोलेको?
कसरी शान्त भयो यो मन, त्यसरी पोलेको?
लागेछ यस्तो पूर्णताजस्तो, जहाँ छु सही छु।
आफैँलाई भेटेँ, न जन्मेँ, मरेँ—सदैंव यहीं छु।
बताऊ अब कसरी भनूँ त्यो भेट सम्पूर्ण?
छैनन् है शब्द, त्यो भेटका लागि भाषा नै अपूर्ण।
बिलाएँ कण-कणमा, सबै ब्रह्माण्डैभरिमा।
पानीको थोपा एकै हो, ताल, सागर, नदीमा।
न सुख, दुःख, न जन्म, मृत्यु—न कोहि भेटिन्छ।
शून्यमा सबै, सबैमा शून्य—यो कस्तो विचित्र!
सूर्यको एक झुल्कोले पनि संसार उज्यालो।
त्यो एक भेट सदाका लागि अमृत भै'दियो।
चिम्लिन्छु आँखा, जोडिन्छु उँहिँ, जो सधैँ त्यहिँ छ।
हितैषी मेरो परम प्रिय, ‘ऊ’ सधैँ यहिँ छ।
Santosh Pandey

COMMENTS